12/05/2026
भन्सार नियमावली, २०८३
१. नयाँ व्यवस्था: यसले झण्डै १७ वर्ष पुरानो 'भन्सार नियमावली, २०६४' लाई खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ । यो नयाँ भन्सार ऐन, २०८२ को दफा १३० बमोजिम ल्याइएको हो ।
२. प्रविधिमैत्री र आधुनिक: नियमावलीको मुख्य उद्देश्य भन्सार प्रशासनलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र छरितो बनाउनु हो ।
३. छनोट प्रणाली (Selectivity Module): मालवस्तुको परीक्षण अब कम्प्युटर प्रणालीमा आधारित आधुनिक छनोट प्रणालीमार्फत हुनेछ । यसअन्तर्गत जोखिमको आधारमा सामानहरूलाई हरियो (Green), पहेंलो (Yellow),वा रातो (Red) च्यानलमा वर्गीकरण गरिनेछ । हरियो च्यानलका सामान भौतिक परीक्षण बिना नै तत्काल जाँचपास हुनेछन् ।
४. भरोसायोग्य व्यवसायी (Authorized Business Person): कम्तीमा तीन वर्षदेखि कानुन पालन गर्दै आएका र आर्थिक रूपमा सबल व्यवसायीहरूलाई 'भरोसायोग्य व्यवसायी'को रूपमा मान्यता दिने प्रावधान राखिएको छ । उनीहरूले भन्सारमा छुट्टै डेडिकेटेड क्षेत्र र कार्यालय समयभन्दा अघि/पछि पनि जाँचपासको सुविधा पाउनेछन् ।
५. अग्रिम निर्णय (Advance Ruling):व्यापारीहरूले मालवस्तु आयात गर्नुभन्दा कम्तीमा ४५ दिनअघि नै उक्त वस्तुको वर्गीकरण (HS Code) वा उत्पत्तिको विषयमा भन्सार विभागबाट आधिकारिक 'अग्रिम निर्णय' लिन सक्नेछन् । यो निर्णय दुई वर्षसम्म मान्य हुनेछ ।
६. भन्सार मूल्याङ्कन:भन्सार मूल्याङ्कनलाई वैज्ञानिक र पारदर्शी बनाउन कारोबार मूल्यलाई प्राथमिक आधार मान्ने व्यवस्थालाई थप स्पष्ट बनाइएको छ ।
७. निजी क्षेत्रलाई अनुमति:भन्सार वेयरहाउस (गोदाम) र बण्डेड वेयरहाउस सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रका कम्पनीहरूलाई पनि सहभागी गराउने नयाँ कानुनी अनुमति प्रदान गरिएको छ ।
८. राष्ट्रिय एकद्वार प्रणाली: सबै भन्सारसम्बन्धी एजेन्सीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने राष्ट्रिय एकद्वार प्रणालीलाई कानुनी मान्यता दिइएको छ ।
➡️यो नयाँ नियमावलीले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।