16/06/2021
नेप्सेः कति हल्ला कति स्वाभाविक गति ?
इलियट वेभको सिद्धान्तअनुसार प्राविधिक विश्लेषणको विद्यार्थीको आँखामा नेप्सेको विश्लेषण
पूर्व घोषणा (Disclaimer)
⮚ यो लेख इलियट वेभ सिक्दै गरेको व्यक्तिले नितान्त व्यक्तिगत विश्लेषणका लागि तयार पारेको विवरणबाट लेखिएको हो ।
⮚ सकेसम्म सर्वसाधारण व्यक्तिले पनि वुझ्न सक्ने हिसाबले लेखिन खोजेको भएतापनि सेयर बजारको ज्ञान र प्राविधिक विश्लेषणको ज्ञान भएको व्यक्तिले अझ सहज रूपमा बुझ्न सक्नुहुनेछ । (अनुभवी र विद्वान विश्लेषकले यो लेख पढेको खण्डमा गाली पनि गर्न सक्नुहुनेछ ।)
⮚ सेयर बजार कुनै पूर्व निर्धारित बाटो वा कसैको अनुमानमा चल्ने होइन अपितु बजारले बाटो, ढाँचा र लय स्वतः निर्माण गर्दछ तथापि लगानीकर्ताहरू आफ्नो-आफ्नो विश्लेषण र विश्लेषणका अौजार (Tools) को प्रतिपादन, उपयोग र व्याख्या गर्न स्वतन्त्र रहन्छन ।
⮚ बजारमा आउने हल्ला, समाचार, नियामक निकायका सूचना, कम्पनीका प्रतिवेदनहरू बजारमा हुने उतारचढावका अभिन्न अंग हुन् जसले छोटो समयका लागि बजारको सूचकमा प्रभाव पारेता पनि लामो अवधिमा बजार आफ्नै लयमा चलिरहन्छ ।
⮚ यही विश्लेषण र लेखको अधारमा सेयर कारोबार नगर्नुहोला, गरेको खण्डमा हुने नाफा प्रति मेरो हक वा नोक्सान प्रति मेरो जवाफदेहिता रहनेछैन ।
विषय प्रवेश
यदी तपाइ पूँजीबजारमा प्रवेश गर्दै हुनुहुन्छ वा गरिसक्नुभएको छ भने तपाइले अत्याधिक सुन्ने गरेको Terminology हो Bull र Bear । यी बाहेकका शब्दहरू Circuit Break, Cornering, Circular Trading, Market Capitalization, Correction, Matching order, Fundamental and Technical Analysis अदि हुन ।
विश्वबजारका भएका सम्पुर्ण पूँजी बजारमा Bullish Trend र Bearish Trend चल्दछ, त्यसैले लगानीकर्ताहरूको प्रचलित थेगो नै छ, Trend is Friend भनेर । नेपालको सेयर बजार जब जब बढ्न थाल्छ वा बढ्छ तब एक न एक अरोप वा गालीको शिकार भएको इतिहास छ । कहिले जुवाघर, कहिले अनुत्पादक लगानी, कहिले तासको घर, कहिले हावा भरेको बेलुन भने अहिले हल्लाको भरमा अस्वाभाविक बढेको भन्ने भनाइ अइरहेको छ ।
यो लेखका मितिसम्म यो लगानीकर्ता के बुझ्नसक्ने भएको छ भने बजारको अफ्नै गति र समय हुन्छ जसले बजारको माथि चढ्ने र झर्ने बाटो तय गर्दछ । के बजार अस्वाभाविक रूपमा बढेको छ त ? भन्ने प्रश्नमा पूँजीबजारका जानकार, अनुभवि तथा पुराना लगानीकर्ताहरूले जानेको र भन्दै अइरहने बजार बुलिस ट्रेन्डमा छ र अहिलेको बजारको गति स्वाभाविक तथा अपेक्षित हो भन्ने विचारसंग लेखक लगानीकर्ता सहमत छ । नेपालसंगै सुरू भएका विश्वबजारका पूँजीबजारको तुलनामा नेपालको सेयर बजार ज्यादै न्यून र दयनीय अवस्थामा रहेको भएतापनि कोरोनाको कारण अन्य क्षेत्रमा अएको पूँजीको संकुचन तथा लकडाउनले ल्याएको फुर्सद, नेप्सेमा प्रविधिको उपयोग मार्फत् सेयर कारोबारमा अएको सहजता, बजारमा पूँजीकरणको वृद्दि, सूचीकृत कम्पनीहरू थपिदै जानु, नयाँ लगानीकर्ताहरूको प्रवेशका कारण नेपालको सेयर बजारमा अएको उछाल र वृद्दि अपेक्षा गरिएको भन्दा अझै कम नै हुन जान्छ ।
पूँजी बजारको अनुमान र चालका सम्बन्धमा विश्लेषण गर्नका लागी विभिन्न विश्लेषक तथा लगानीकर्ताले विभिन्न विधि, अउजार (Tools), र तरिकाको प्रयोग गरिरहेका छन र बजार त्यसैगरि चलोस् भन्ने अपेक्षा गर्दछन अपितु बजारले स्वतन्त्र रूपमा अफ्नो मार्ग स्वयं निर्माण गरिरहेको हुन्छ । यस लेखमार्फत बजारको गति पूँजीबजार विश्लेषण गर्ने प्रसिद्द, जटिल र पुरानो विधि इलियट वेभको सहायतामा राखेर हेरिएको छ ।
इलियट वेभको परिचय
सेयर बजारले बजारको समयअनुसार प्रत्येक पटक एकै प्रकारको ढाँचा निर्माण गर्दछ भन्ने विचारमा आधारित रहेर बजारको विश्लेषण गर्ने पद्धति नै इलियट वेभ (Elliot Wave) थ्योरी हो । बजारमा हुनसक्ने उतारचढावको विश्लेषण तथा अब सेयर बजारमा के हुनसक्छ भन्ने अनुमान गर्न इलियट वेभले सहयोग गर्दछ । यस विश्लेषणले तपाइले जुनसुकै समयको बजारको विश्लेषण गरेतापनि बजार सधैं उस्तै ढाँचामा चल्दछ भन्ने मान्दछ ।
Ralph Nelson Elliot ले १९३० मा प्रतिपादन गरेको हुनाले उनकै नामबाट यसको नाम Elliot Wave राखिएको हो । यस सिद्धान्तलाई सन् १९७० तिरबाट प्रचलित गराउने रोबर्ट प्रेचर हुन । इलियटको भनाइअनुसार "आम मानिसहरूको सामुहिक व्यवहार सधैँ एकैनासको ढाँचामा चल्दछ, इलियट वेभ (Elliot Wave) उक्त आम मानसिकताको भौतिक स्वरूप वा व्याख्या हो ।"
Elliot Wave मा Motive Waves र Corrective Waves गरि दुइ प्रकारका वेभ हुन्छन भने Motive Waves मा ५ वटा र Corrective Waves मा ३ वटा गरि जम्मा ८ वटा Sub-Wave रहेका हुन्छन ।
इलियट वेभ विश्लेषण गर्नुभन्दा पहिले यसका नियमहरू जान्नु आवश्यक हुन्छ । Elliot-Wave का तीनवटा नियमहरू छनः
१) वेभ २ वेभ १ भन्दा तल आउनुहुँदैन,
२) वेभ ४ वेभ ३ को सुरूवात भन्दा तल अाउनुहुँदैन र वेभ १ लाइ पनि छुनुहुँदैन,
३) वेभ ३ कहिल्यै पनि सबैभन्दा छोटो वेभ हुनहुँदैन ।
Wave 1
वेभ १ बुलको सुरूवात र अाधार भएकाले धेरैजसो लगानीकर्ता डराउने तथा बजार अझै घट्छ भन्ने मान्यताले गर्दा वेभ २ ले अत्याधिक वा लगभग शतप्रतिशत सम्म करेक्सन गर्ने गर्दछ । वेभ १ को आधा भाग ५० प्रतिशत सम्म करेक्सन हुने सम्भावना रहन्छ । वेभ १ को पहिलो आधा भागको करेक्सन पश्चात हुने Price Movement र Volume increment ले अर्को आधा भागमा ५० प्रतिशत भन्दा कम करेक्सन हुन जान्छ ।
२५ नोभेम्बर २०१९ (Index 1103.67) देखि १ मार्च २०२० (Index: 1669.80) सम्म वेभ १ रहेको छ भने २९ जुन २०२० (Index: 1149.73) सम्म वेभ २ सकिएको देख्न पाइन्छ । वेभ १ को आधामा ५० प्रतिशतको करेक्सन भएको देख्न सकिन्छ भने अर्को आधा भागमा खासै धेरै करेक्सन भएको देखिँदैन ।
Wave 2
वेभ २ ले वेभ १ को अत्याधिक मात्रा करेक्सन गर्ने भएकोले वेभ १ मा भएको नाफा बुक गर्ने अवसर लगानीकर्तामा रहँदैन जसले कारोबार रकममा कमी र मूल्य उतारचढावमा संकुचन आउँछ । वेभ २ सम्म अधिकांश लगानीकर्ताले वियरिस बजार अझै रहन्छ भन्ने सोच्दछन जसले कारोबार रकम, संख्या र मूल्यमा हुने लचकतामा कमी ल्याउँदछ ।
वेभ १ को अन्त्यमा कारोबार रकम ४.८४७ बिलियन रहेको छ भने वेभ २ को अन्त्यमा कारोबार रकम ३.६१४ मिलियन रहेको छ । वेभ २ लगभग १२० दिनको देखिएतापनि यसको वास्तविक समय जम्मा १६ दिनको रहेको छ । वेभ २ ले वेभ १ को लगभग ९० प्रतिशत 'Retrace' गरेको देख्न सकिन्छ ।
Wave 3
वेभ ३ को सुरूवात वेभ २ को अन्तिम विन्दुबाट हुन्छ भने वेभ ३ को अन्तिमबाट वेभ ४ को सुरूवात हुन्छ । इलियट को नियमानुसार वेभ ३ (वेभ १, ३ र ५) मध्ये सानो हुन सक्दैन । २९ जुन २०२० देखि २१ फेब्रुअरी २०२१ सम्म वेभ ३ चलेको देखिन्छ ।
इलियट वेभको वेभहरूमध्ये वेभ ३ सबैभन्दा बलियो र ठुलो हुने गरेको देखिन्छ । बजार अब बढ्छ भन्ने आम मानसिकता, अत्याधिक लगानीकर्ताहरूको सहभागिता, नयाँ लगानीकर्ताहरूको बजार प्रवेश गर्ने अवस्था ले गर्दा यो वेभमा कारोबार रकममा उल्लेख्य वृद्धि हुने मूल्यमा उच्च वृद्धि हुने अवस्था देखिन्छ ।
नेप्सेको वेभ ३ मा पनि लगानीकर्ताको सहभागितामा वृद्धि, कारोबार रकममा उल्लेख्य वृद्धि भएको र सूचीकृत कम्पनीहरू सबैको मूल्यमा उतारचढाव भएको देख्न सकिन्छ । वेभ १ र २ को तुलनामा वेभ ३ मा मुल्यको ब्रेकआउट (Price Breakout), Volume Increment, Increase in Channel Breadth, Zigzag Correction देख्न सकिन्छ । Fibonacci trend tool को प्रयोग गरि वेभ १ र २ बाट हेर्दा वेभ ३ फिबोनाकि को २.६१८ विन्दुमा रहेको छ ।
Wave 4
वेभ ४ ले वेभ ३ को करेक्सन गर्ने गर्दछ । वेभ २ र ३ को माध्यमबाट यसको अन्तिम बिन्दु अनुमान गर्न सकिन्छ । वेभ २ जसरी जान्छ त्यो भन्दा फरक तरिकाले वेभ ४ ले करेक्सन गर्दछ तर समय र मूल्यको हिसाबले वेभ २ र ४ लगभग बराबर हुन जान्छन । वेभ ५ को तयारी यही वेभमा हुने गर्दा र वेभ २ भन्दा फरक करेक्सन हुने भएकोले यसमा करेक्सन 'Sideways' हुने गर्दछ । स्टकको वेभ ४ मा बलियो सूचक नभएका स्टकहरूको मुल्य उच्च विन्दुमा पुगेर घट्न सुरू गर्दछ ।
२१ फेब्रुअरी २०२१ देखि १६ मार्च २०२१ सम्म वेभ ४ देख्न सकिन्छ भने २१ फेब्रुअरी देखि २६ अप्रिलसम्म Sideways Correction देख्न सकिन्छ । वेभ १ र ५ को सुरूवातमा Zigzag र Wedge Channel बनाउन सक्ने भएकोले यो Movement लाइ Valid मानिन्छ । यो करेक्सनका विभिन्न ढाँचाहरूमध्येको एउटा ढाँचा हो ।
Wave 5
अघिल्लो वेभहरूमा भन्दा वेभ ५ मा मूल्यको उतारचढाव कम हुने गर्दछ । कारोबार मूल्यमा कमी आउन थाल्दछ भने मूल्य लचकतामा समेत कमी आउँछ । तर 'Extended' वेभ ५ मा भने सेयर मुल्यमा हुने परिवर्तन वेभ ३ कै जस्तो देख्न सकिन्छ, लगानीकर्ताले बजारबाट आशा धेरै राख्ने भएकोले करेक्सनमा कमी आउँछ भने Parallel Channel को चौडाइमा कमी देख्न सकिन्छ । मूल्यमा हुने उतारचढावको कमी, कारोबार रकममा हुने स्थिरताले गर्दा बजारको दिशा परिवर्तन हुनसक्ने लक्षण यो वेभमा देखिन थाल्छ ।
वेभ 'Extension'
अधिकांश समयमा वेभ ३ 'Extension' हुने गर्दछ । कुनैपनि वेभको 'Extension' मा ब्रेकअउट (Price Breakouts), Gap Continuation (एउटा क्यान्डल बाट अर्को क्यान्डल बीचमा ग्याप), कारोबार रकम अस्वाभाविक रूपमा वृद्धि र वेभको चौडाइ (Increased Breadth) मा उल्लेख्य वृद्धि हुने गर्दछ । यस वेभमा बजारका सम्पूर्ण स्टकहरू कारोबारमा सहभागी हुन्छन् भने कारोबार र मूल्यमा समेत तीव्र रूपमा वृद्धि हुने गर्दछ ।
वेभ ५ सँगै फाइनान्स, डेभलपमेन्ट बैंक र हाइड्रो सेक्टरमा छाएको बुल, मुल्यमा हुने ब्रेकआउट (Breakout), कारोबार रकमले नेप्से पाँचौं (Fifth) वेभको विस्तारमा छ भन्ने जनाउँछ । चित्रमा देखाइएको रातो डटलाइन सम्भावित करेक्सन हुनसक्ने विन्दुहरू हुन भने निलो लाइन वेभ ५ को अनुमानित अन्तिम विन्दु हो ।
अहिले नेप्सेमा वेभ ५ चलिरहेको देख्न सकिन्छ । यो वेभको वेभ ३ सम्म बजार गइसकेको देखिएको अवस्थामा वेभ ४ कतिसम्म झर्न सक्छ अथवा अन्तिम वेभ कतिसम्म पुग्न सक्छ भनेर हेर्नका लागि वेभ ५ को अन्तिम विन्दु अनुमान गर्न सकिन्छ । यो वेभ ५ कहाँ सकिन्छ भनेर अनुमान गर्नका लागि Parallel channel बाट वेभ ३ को सुरूवात बाट वेभ ४ को अन्तिम विन्दुमा ट्रेन्डलाइन खिच्ने त्यसपछि वेभ ३ को अन्त्यमा लगेर राखेपछि देखिने Projected ट्रेन्डलाइनको अन्त्यमा वेभ ५ सकिने सम्भावना रहन्छ ।
यसरी हेर्दा वेभ ५ को इलियट वेभको मान्यता अनुसार सब वेभ ४ ले सब वेभ ३ लाइ अधिकतम ५० प्रतिशत सम्म करेक्सन गर्नसक्ने सम्भावना रहन्छ । भन्नाले अव बजार बढीमा २७८४ को विन्दु वरपर (माथिबाटै फर्किन पनि सक्छ तर यो न्युनतम विन्दु हो) सम्म करेक्सन भएर अहिलेसम्मको उच्चतम विन्दुमा पुग्नसक्ने देखिन्छ ।
तपाइहरूको सल्लाह, सुझाव र प्रतिक्रिया ले अगामी प्राविधिक विश्लेषणमा अझै निखारता, सहजता र विश्वसनीयता ल्याउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।
सन्दर्भ सूची
१) Elliott Wave Principle Key To Market Behavior by Elliott, Ralph NelsonFrost, Alfred JohnPrechter, Robert Rougelot
२) Mastering Elliott Wave Principle Elementary Concepts, Wave Patterns, and Practice Exercises by Constance Brown
३) Guidelines for Applying Elliott Wave Theory, Chart School